अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित


वासिङ्टन, १८ मङ्सिर । कोरोनाभाइरस सङ्क्रमणका कारण अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार १५७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सवैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ । –रासस/एएनआई