
फोटोः संञ्जय था श्रेष्ठ
पोखरा । अप्रचुर हिउँदे आगन्तुक तथा वटुवा लालकण्ठे चुइयाँ २८ वर्ष पछि उपत्यकामा यहि डिसेम्बर २ तारिखका दिन अभिलेख भएको छ । यो प्रजाति पंछी अवलोकनकर्ताले “मिनी कोशी” को उपमा दिएको मनोहरा खोला परिसरमा सन् १९९२ पश्चात हाल भेटिएको हो ।
१९ औ शताब्दीमा ब्रायन हडसनले नेपालको लागि नयाँ प्रजातिमा समाबेश गराएको यो प्रजाति कोशी क्षेत्रमा प्राय हिउँदमा देखिएपनि अन्यत्र निकै कम देखिएको छ । पंछी अवलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठ, पेम्बा शेर्पा र सुगम ताम्राकारको टोलीले यस प्रजातिलाई तस्बिर सहित अभिलेख गराएका हुन् ।

नेपालको संकटापन्न पंछी सम्बन्धि रातो किताबका अनुसार यस प्रजातिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विरल हिउँदे आगन्तुक, रारा राष्ट्रिय निकुञ्जमा कहिलेकाँही वटुवाको रुपमा, अन्नपूर्ण संरक्षण क्षेत्र र लामटाङ राष्ट्रिय निकुञ्जमा विरल वटुवा, चितवन राष्ट्रिय निकुञ्जमा अप्रचुर हिउँदे आगन्तुक भनि उल्लेख गरिएको छ ।
त्यसैगरि पोखरा उपत्यकामा समेत विरल वटुवा रहेको यो प्रजाति सन् १९९२ मा बरिष्ठ पंछीविद डा. हेम सागर बरालले मलपोखरीमा भेटेयता उपत्यकामा हाल सम्म भेटिएको थिएन । बरिष्ठ पंछीविद बरालका अनुसार हालको अभिलेख उपत्यकाको लागि तेस्रो अभिलेख हो ।

नेपालमा हाल सम्म यस प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणका प्रयासहरु भएका छैनन् । अझैपनि यस प्रजाति अन्य ठाउँमा देखिन सक्ने सम्भावना भएको र अवलोकनमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनुहुन्छ नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ ।

