
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज (आइतबार) दिउँसो १ बजेलाई पार्टी कार्यालयमा तय भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अहसमति हुँदाहुदै आज स्थायी कमिटीको बैठक बस्न लागेको हो।
नेकपा भित्रको विवाद ३ महिना पनि नपुग्दै फेरि स्थायी कमिटीमा प्रवेश गर्दै छ। शनिवार बालुवाटारमा भएको सचिवालयको बैठकमा ओलीले औपचारिक तथा अनौपचारिक वार्ताका लागि स्थायी कमिटी बैठक १५ दिन पर सार्न गरेको प्रस्ताव बैठले अस्वीकार गर्दै पहिले तोकिएकै मिति र स्थानमा स्थायी कमिटी बैठक राख्न लागेको हो।
प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुनेबारे अहिलेसम्म टुङ्गो लागेको छैन । तर, धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने पहिलो दिन आजको स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष (ओली–प्रचण्ड०)का प्रस्ताव र एकलेअर्कालाई लेखेका चिठ्ठी स्थायी कमिटी सदस्यले औपचारिक रूपमा प्राप्त गर्ने छन् । त्यसपछि अर्को बैठक बिहीबार मात्रै बस्ने स्रोतले जनाएको छ ।