
पोखरा, २१ मंसिर । पोखराका ७१ जनासहित गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा ९५ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६५, नवलपरासी पूर्व १४, म्याग्दीका २, स्याङ्जाका ३, तनहुँ ९ गोरखा र लमजुङका १÷१ जना रहेका छन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ६९३ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ४ जना निको भएका छन् । प्रदेशमा आइतवारसम्म ५ हजार १ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा १८९ जना स्वास्थ्यकर्मीहरु संक्रमित रहेकोमा १२३ जना निको भईसकेका र ६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी गण्डकी प्रदेशमा मृतक संख्या १ सय ७० पुगेको छ ।