मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

-


     मर्दी न्युज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित


पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–१ का २४ वर्षीय प्रवीण कालिकोटे छन् । घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् । 

मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकल सहित उनीहरुलाई दुर्घटनाग्रस्त अवस्थामा स्थानीयवासीले आज बिहान फेला पारेका थिए । 

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ । मध्यरात दुर्घटना स्थानीयवासीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रकासूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । रासस