
तनहुँ, ३ पुस । शुक्लागण्डकी नगरपालिका वडा नं. १२ स्थित जनज्योति प्राथमिक विद्यालयका ३५ जना विद्यार्थीलाई टीसर्ट, ट्रयाकसुट र झोला वितरण गरिएको छ।
रिच फर नेपाल फाउण्डेसनले उपलब्ध गराएको टी–सर्ट, ट्रयाकसुट र झोला उक्त संस्थाका नेपाल प्रतिनिधि खेम गुरुङमार्फत बिहीवार एक कार्यक्रमका बीच वितरण गरिएको हो । चीसो बढेसँगै विद्यार्थीहरूलाई राहत होस् भनेर सो सामग्री वितरण गरिएको रिच फर नेपाल फाउण्डेसनका प्रतिनिधि खेम गुरुङले बताए ।
त्यसै गरी उक्त संस्थाले जनज्योति प्राथमिक विद्यालयको भवन र छानो मर्मत गरिदिने भएको जनाएको छ । सोको लागि करिब १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् वडा सदस्य बुद्धसिंह गुरुङले सबै बालबालिकालाई घरमा पढ्ने वातावरण तयार पारिदिन अभिभावकलाई आग्रह गरे । ‘यसै विद्यालयमा अध्ययन गरेर यसै घरेडी गाउँका पूर्व विद्यार्थीहरु डाक्टर बन्न सफल भएको छ’, उनले भने, ‘हाम्रा सबै बालबालिका सक्षम छन्, राम्रो शिक्षाको लागि अहिलेदेखि नै प्रत्येक अभिभावकले घरमा पढ्ने वातावरण बनाइनु प¥यो ।’
मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले त्यस विद्यालयलाई छुट्टै शिक्षकको व्यवस्था गरी अंग्रेजीमाध्यमबाट पढाइ सञ्चालन गराउने उद्देश्यका साथ अघि बढिरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक मञ्जु मल्लले दिन प्रतिदिन विद्यार्थी घट्दै गएकोले दरबन्दी पनि कटौती हुँदै गएको बताए । उनले विद्यालयलाई अझ राम्रो बनाउन सबै अभिभावक तथा शुभचिन्तकहरुको उत्तिकै भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोपिला गौतमको अध्यक्षतामा भएको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय भलिबल रेफ्री टुकबहादुर गुरुङले शिक्षकहरुलाई डायरी, पेन वितरण गरिएको थियो ।

