
जापान, डिसेम्बर २२ । जापानमा कोरोना महामारीका कारण झण्डै ८० हजार जनाले रोजगारी गुमाएको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जनवरीदेखि डिसेम्बर २१ सम्मको अवधिमा ७८ हजार १ सय ५३ जनाको महामारीका कारण रोजगार गुमेको हो । यो संख्या अझै बढी हुन सक्ने मन्त्रालयका अधिकारीले जनाएका छन् । क्षेत्रीय श्रम ब्यूरो र सार्वजनिक रोजगार कार्यालयको तथ्यांक मात्र समावेश गरिएको छ ।
कुन क्षेत्रमा कतिले रोजगार गुमाए ?
यस अवधिमा सबैभन्दा बढी उत्पादन क्षेत्रमा १५ हजार ६ सय ७२ जना र पब तथा रेष्टुरेन्ट क्षेत्रमा १० हजार ९ सय ३५ जनाले रोजगार गुमाए ।
त्यसैगरी खुद्राबिक्री क्षेत्रमा १० हजार ३ सय ८४ जना, होटेलमा ९ हजार ६ सय पाँच, अस्थायी एजेन्सीमा ५ हजार ८४ जनाको रोजगार गुमेको छ । साथै प्रान्त अनुसार सबैभन्दा बढी टोकियोमा १९ हजार पाँच र ओसाकामा ६ हजार ५ सय ८१ जनाले रोजगार गुमाए ।
त्यस्तै अनियमित तथा आंशिक रूपका श्रमिक मे २५ देखि हालसम्म ३७ हजार ४ सय ६० जना बेरोजगार बनेको जनाईएको छ ।
मन्त्रालयका अधिकारीहरूले व्यवसायीहरूलाई रोजगार गुमाएका श्रमिकहरूलाई सरकारी अनुदान कार्यक्रम प्रयोग गर्न अनुरोध गरेका छन् भने नयाँ रोजगार खोज्न सहयोग गरिरहेको बताएका छन् ।

