लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे

-


     मर्दी न्युज    
     पुस ११ गते २०७७ मा प्रकाशित


मोमेनसिङ (बङ्गलादेश) । शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहेका थिए।

छोरा आएपछि उनले उठेर झुलभित्रैबाट स्पर्श गरे । उनका आँखाले राम्ररी ठम्याउन सकिरहेको थिएन । सुमसुम्याउँदै आफ्नै भाषामा सोधे । ‘बाबु यतीका वर्ष कहाँ हराएको ।’ उनले बोलेको यही भावको बङ्गाली भाषा सजिलै बुझियो । एकै छिनमा वृद्ध आँखामा आँशु टिलपिलायो । भावुक देखिएका मोहम्मद बाबुल हुसेन (बाबुलाल)को मुखबाट बोली फुटेन । परिवारबीच एकछिन भावभङ्गीबाट वार्तालाप भयो ।

आमा मुसामद महिमा खातुनको अवस्था पनि उही थियो । छोरालाई लिन अगाडिको सडकसम्मै आएकी खातुन छोराको अनुहार सुम्सुम्याउँदै माया साटे । चकमन्न रातमा मातृवात्सल्य प्रष्ट देखियो । पन्ध्र वर्षपछि छोरा भेट्दा उहाँ छाँगाबाट खसेजस्तै भए । केही बोल्नै सकेनन् । परिवारले मृत्यु भयो भनेर आस मारिएका बाबुलाल १५ वर्षपछि घर भित्रिनु सामान्य कुरा थिएन । बाबुलाललाई उनीहरुले खोजखबर गर्न छाडिसकेका थिए । त्यस रात एकछिन पारिवारिक मिलनको क्षण रह्यो । शब्दविहीन भाव व्यक्त भइरह्यो । छरछिमेकी जम्मा हुन थाले । सबैका अनुहार मलिन, आश्चर्यचकित देखियो । वातावरण शून्य भएको थियो । लामखुट्टेका पुँ…को आवाज मात्र सुनिन्थ्यो ।

एक छिनपछि परिवारले विगत स्मरण गर्न थाले । ‘(माता समस्या लागेइ (मानसिक रोग), अनेक चेष्टा गर्छे माँ, अनेक जग्गाजग्गा’, झण्डै ७० वर्षकी आमा मुसामद महिना खातुन उनको अवस्थाबारे सुनाउनुहुन्छ । श्रीमती अनुवार वेगमलाई भने श्रीमान् आउँछन् कि भन्ने झिनो आशा थियो । दाजुभाइकाअनुसार खातुन श्रीमानकै प्रतिक्षामा थिए ।

बुबाआमा वृद्धवृद्धा भएकाले काम गर्न सक्ने अवस्थाको छैनन्। उनीहरुलाई कान्छो छोरा (बाबुलालका भाइ) मोहम्मद साइदुल इस्लामको सहारा छ । इस्लामले चटपटे बेचेर कमाएको पैसाले घर व्यवहार चलाउँछन् । बङ्गलादेशको ढाकाबाट झण्डै २०० किलोमिटर पुर्व¬दक्षिणतर्फ पर्ने मोमेनसिङ जिल्ला चारहस्दिया ग्राममा रहेको घर अगाडि पानी जम्ने भएकाले बोरामा माटो भरेर फड्के बनाइएको छ । कुनामा एउटा सानो झुपडी छ । जस्ताको छानो, बाँसले बारेको कोठामा यत्रतत्र छिद्र परेको छ । भित्ता पत्रिकाले टाँसेर प्वाल टाल्ने प्रयास गरिएको देखिन्छ । छेउमा रहेको सन्नुसमा नै सम्पत्ति राख्ने महत्वपूर्ण साधन थियो । कटेरोको अर्को छेउमा भाइ मोहम्मद साइदुल इस्लामको विस्तारा थियो । बीचमा छोराको गृहप्रवेशका लागि फुलका गुच्छार फलफलूल सजाएर राखिएको थियो ।

चार सन्तानमध्ये परिवारका माइला छोरा बाबुलालका छोरा अनार वेगम र छोरी फेरदोसी छन् । उनी हराउँदा छोरा काखमा थियो । बाबुलालका जेठा दाइ आमिनु इस्लाम घरको मिस्त्री काम गर्छन् । छिमेकी महम्मद साइफूल इस्लाम बाबुलाल घरको सबै काम गर्ने परिवारकै इमान्दार र सोझो व्यक्ति हो भन्छन् । मानसिक समस्या भएपछि हराएको भए पनि कसरी नेपाल पुग्यो त्यस कुरामा परिवार छक्क छन् । ‘आपको भलो गरे, सुक्रिया आफने, धन्नोबाद (धन्यवाद)’, बङ्गालीमा हिन्दी मिसाउँदै मानवीय कामको इस्लामले प्रशंसा गर्दै भने ।

पन्ध्र वर्षअघि विसं २०६२÷६३ ताक बाबुलालको दैनिकी माछा मार्ने अनि बजारमा लगेर बेच्ने थियो । त्यही पैसाले परिवार पालिन्थ्यो । सोही क्रममा उहाँमा मानसिक समस्या देखियो । गरिब परिवार भएकाले उपचारको बाटो खोज्ने प्रयास हुनै सकेन । उनमा रोग बल्झिँदै गयो । त्यही माछा मार्ने सिलसिलामा नै उनी घरबाट बिछोडिएका थिए । माछा मार्न गएपछि घर नफर्केको परिवारका सदस्य सुनाउँछन् । घर पुग्नुअघि बिहीबार साँझ बङ्गलादेशका लागि नेपाली राजदुत डा वंशीधर मिश्रले राजदूतावासमै बाबुलाललाई लिन आएका परिवारका सदस्यको जिम्मा लगाएका थिए ।

राजदूत डा मिश्रले आफ्नै प्रयासमा घरसम्म पुग्ने यातायात खर्चको समेत जोहो गरिदिएका थिए । ती परिवारलाई ढाकामा एक दिन बस्ने चाँजोपाँचोसमेत उनले मिलाइदिए । उनले बिदाइ गरेपछि पारिवारिक मिलनका लागि टोली ढाकाबाट झण्डै २०० किलोमिटर टाढा बाबुलालको घर जान निस्किएको हो । राजदूत डा मिश्रले फेरि त्यही अवस्थामा नफर्कनका लागि दूतावासबाट आवश्यक सहयोग रहने जानकारी दिए। उनले भने, ‘औषधिको प्रेस्क्रिप्सन मलाई दिनुहोला, आवश्यक औषधि उपलब्ध गराउनेदेखि अन्य आवश्यक सहयोग र समन्वय दूतावासबाट हुन्छ ।’उनले आश्रमले गरेको काम धेरै पहिलेदेखि नै जानकारीमा रहेको उल्लेख गर्दै पवित्र मानवीय कार्य गरेकामा धन्यवाद दिए।

परिवारका हरेक सदस्यले मर्यो भनेको मान्छे घर फर्कियो यो भन्दा ठूलो अरु केही रहेन भन्दै पटकपटक मानव सेवा आश्रमको धन्यवाद भनिरहेका थिए । नेपाल र नेपालीको प्रशंसा गर्न चुकेका थिएनन् । उनीहरु मात्रै होइन हरेक बङ्गलादेशी यो कुरा सुनेर भावुक हुन्थ्ये । पारिवारिक पुनःमिलान गराउने आश्रमको टोलीलाई ठूलो सम्मानपूर्वक हेर्थे र आदर गर्थे । बङ्गलादेशका सञ्चारमाध्यम तथा यूट्युबमा समेत खबर प्रवाहित भएका छन् । सामाजिक सञ्जालका स्टासस र कमेन्टमा नेपाल र नेपालीको प्रशंसा भएको देखिन्छ । ‘लङ लाइफ नेपाल–बङ्गलादेश रिलेसन’ भनेर सामाजिक सञ्जालमा लेखिएका छन् ।

आश्रमका सदस्य दिवेश गुप्ता फोन र सामाजिक सञ्जालमा बङ्गलादेशबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अझै मानवीय कार्य गर्न हौसला मिलेको बताउँछन् । स्थानीय नागरिकले फोन गरेरै धन्यवाद भनिरहेका छन् भने । मानवीय कार्यप्रति चासो राखिरहेका छन् । यसअघि बिहीबार बिहान २ बजे चितवनको सडकबाट उद्धार गरिएकी मोमिना बेगम (गीता मानव)लाई परिवारमा पुनःमिलन गराइएको थियो । उनीहरुको घर विपरीत दिशामा झण्डै ५०० किलोमिटरको दूरीमा पर्छ । त्यसैले पहिलो दिन गीतालाई बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा र दोस्रो दिन बाबुलालाई मेमोसिङ जिल्लाको चारहस्दियामा पारिवारिक मिलन गराइएको गुप्ताले बताए।

यसरी फेला परेको थियो
उनलाई विसं २०७२ मा लमजुङको सडकपेटीबाट फेला पारिएको थियो । लामालामा जिङरिङ्ग कपाल भएका मनोरोगी बाबुलालको शरीरभरि चोटपटक लागेको थियो । अभिभावक किसान सङ्गीत नेपालीसहित आश्रमका स्वयंसेवीले उनलाई उद्धार गरेको थियो । त्यो बेला उनलाई एम्बुलेन्समा राखेर चितवनको आश्रम पठाएको थियो ।

बाबुलाललाई घरमा पुनःमिलन गराउन आएकी आश्रमकी सचिव शुसीला केसी उनलाई चितवन ल्याउनेबित्तिकै अस्पताल लगेर औषधि चलाइएको सुनाउँछन् । डेढ वर्ष चितवनमा राखेर उपचार गरेपछि उनलाई मुख्य कार्यालय हेटौँडामा स्थानान्तरण गरिएको थियो । त्यसपछि उनको अवस्था समान्य बन्दै गयो । उनको वास्तविक नाम मोहम्मद बाबुल हुसेन हो तर आश्रमले बाबुलाल नाम राखेको छ ।

ठिक हुँदै गए पनि बाबुलालले काम सघाउन थाले । आश्रमका अन्य बेसहाराको सहयोगमा जुटे । केहीपछि कुरा खुल्दै आयो र घर बङ्गलादेश भएको बताए । नेपालस्थित बङ्गलादेशी राजदूतावासको पहलमा घर पहिचान भएको हो । दूतावासका कन्सुलर मसुद आलमले घरसम्म पुग्ने कामको समन्वय गरेका हुन् ।