तमुको महान पर्व भनेर चिनिने ल्होसार यो वर्ष कोरोनाका कारण सामान्य औपचारिकता मात्र

-


     मर्दी न्युज    
     पुस १४ गते २०७७ मा प्रकाशित


TPLS Lhosar

पोखरा, १४ पुस । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यो वर्षको तमु ल्होसार सामान्य औपचारिकतामा मात्र सीमित बनेको छ । हरेक गाउँ ठाउँ तथा समाजमा मनाईने ल्होसार कार्यक्रम यस वर्ष भने चहलपहल प्राय शुन्य छ ।

पोखरामा रहेका विभिन्न समाज तथा संघसंस्थाहरुको ल्होसार सामान्य औपचारिकतामा मात्र सीमित भएको छ । यसै सन्दर्भमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिले पनि पुस १५ गते बिहान छ्योप पूजा गरी यसवर्षको ल्होसार सम्पन्न गर्ने योजना बनाएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष हितकाजी तमुले शुभकामना सन्देश जारी गर्दै कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तै यसवर्ष विविध साँस्कृतिक तथा महोत्सवको आयोजना गरी ल्होसार मनाउन नसकेको जनाएको छ । उनले सम्पूर्ण तमुहरु सुरक्षित रुपमा रहन आग्रह गर्दै शुभकामना सन्देशमा भनिएको छ, ‘यो वर्ष हामी विविध कार्यक्रमको आयोजना गरी भेटघाट हुन र शुभकामना आदानप्रदान गर्न कोरोना महामारीले रोके पनि अर्को वर्ष कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्ध गर्दछौं ।’

‘च्यु ल्होको विदाई र ल्वों ल्होको आगमनले कोभिड–१९को अन्त्य होस् भने क्ल्हेसोंदी प्ह्रेसोंदीसँग प्रार्थना गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।