राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

-


     मर्दी न्युज    
     पुस १७ गते २०७७ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठक सकिएको छ । शुक्रबार बसेको सातौं बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरे । 

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो स‌ंशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ बैठकमा पेश गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेश गरेका हुन् ।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गरिएको छ । उक्त अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रिय सभामा पेश गरेको हो । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गरिएको छ । उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेश गरे ।