संसद विघटन साहसिक कदम : बादल

-


     मर्दी न्युज    
     पुस १८ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । काठमाडौंमा भएको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुराको फैसला सर्वोच्च अदालतले गर्छ । ‘संवैधानिक हो कि असंवैधानिक भन्ने अदालतले फैसला गर्ला तर यो कदम ठूलो राजनीतिक र साहसिक कदम हो ।’, उनले भने ।

प्रतिगमन र कू लाई रोक्ने ठूलो साहसिक कदम भएको थापाको भनाई छ । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनको भनाई थियो ।

बादलले बाहिरी रुपमा रुपमा प्रतिगमनजस्तो देखिए पनि सारमा अग्रगामी कदम भएको बताए ।

आगामी चुनावमा विकासका साथै संघीयता, गणतन्त्र र राष्ट्रियताको एजेन्डा लिएर जनतामाझ जाने थापाले बताए । आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै थापाले चुनावमा प्रतिगमनकारीहरुको भण्डाफोर गर्नुपर्ने बताए ।