भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनीका नरेन्द्र लुहार घाइते

-


     मर्दी न्युज    
     पुस २० गते २०७७ मा प्रकाशित


कञ्चनपुर, २० पुस । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । “भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।