स्याङ्जाको प्रकृति पढ्दै अन्य जिल्लाका विद्यार्थीहरू

-


     मर्दी न्युज    
     पुस २० गते २०७७ मा प्रकाशित


स्याङ्जा । १९ दिने लामो ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ स्याङ्जा जिल्लामा भर्खरै सकिएको छ। सुरक्षाका सबै मापदण्डहरू पुरा गरि पर्यटकीय गाउँ भैसेगौंडा–राङभाङको सामुदायिक होम स्टेमा तालिम सञ्चालन भएको थियो ।

तालिममा १० जिल्लाका १३ सहभागी भएका थिए । पिसिआर रिपोर्ट, मास्क, फेससिल्ड, सेनीटाइजर र भौतिक दुरी कायम गरिएको सो तालिमको उद्घाटन स्थानीय समाजसेवी बालकुमार गुरुङले गरेका थिए । सो समयमा उनले भने– ‘सारा नेपाल कोरोनाले शिथिल भएको अवस्थामा तालिम गर्न पाउँदा खुसी लागेको छ, यस्ता तालिमहरूले हाम्रो क्षेत्रको पर्यटन चलायमान हुनेछ ।’

तालिममा सहभागीहरूले चरा÷स्तनधारी÷पुतलीहरूको पहिचान, तिनको अनुसन्धान विधिको बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका थिए । यसका साथै क्यामेरा ट्र्याप लगाउने तरिका, अनुसन्धानका तथ्याङ्कहरूको विश्लेषण, अनुभव आदान प्रदान आदिको बारेमा समेत छलफल भएको थियो । दैनिक १२ घण्टा बढी व्यस्त हुने सो तालिममा सहभागी हुने १५० जनाले निवेदन हालेका थिए । जसमध्ये १३ जना सहभागी छनौट भएका थिए ।

मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत पर्ने यो स्थानमा ‘प्रकृतिका साथीहरू’ संस्थाको आयोजनामा वन्यजन्तु अनुसन्धान विधि तालिमको समापन वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाहबाट भएको थियो ।

‘विगत ९ वर्ष देखि सञ्चालित सो तालिममा आफ्ना अनुभवहरू युवा पुस्तालाई बाँड्न पाउँदा निकै खुसी लागेको छ ।’ उनले भने, ‘‘तालिम पछि सबै सहभागी वन्यजन्तुका विभिन्न आयामहरूको अनुसन्धान र संरक्षणमा लाग्नेछन् भन्ने आशा छ।’