अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिऊँः कमल थापा

-


     मर्दी न्युज    
     पुस २५ गते २०७७ मा प्रकाशित


पोखरा, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राखेका छन् ।

मिडिया नेपाल गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई दबाब नदिई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले भने, ‘सर्वोच्चमा विचाराधीन मुद्दा छ, हामी बोल्नुको कुनै अर्थ छैन । यस्तो बेला सर्वोच्चलाई काम गर्न दिने हो, बोलेर दबाब दिने होइन ।’

यस्तै उनले वैशाखमा चुनाव हुनसक्ने सम्भावना रहेको भन्दै जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी पनि गरे । उनले ओली सरकार असफल भएको अवस्थामा सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जानुपर्ने जरुरी भएको दाबी गरे ।

‘राजसंस्थासहितको लोकतन्त्र, हिन्दू राष्ट्र पुनःस्थापना गर्ने हाम्रो लक्ष्य हो, राजालाई पार्टी भन्दा माथि राखेका छौ,’ थापाले भने, ‘राष्ट्रियता र लोकतन्त्र बचाउन राजाको आवश्यकता पर्छ ।’