भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छः परराष्ट्रमन्त्री ज्ञवाली

-


     मर्दी न्युज    
     माघ २ गते २०७७ मा प्रकाशित


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्।

बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अनूकुलता हेरी खुला गर्ने, हुलाकी सडक अन्तरगतका सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत सहमति भएको उनले बताए।

बैठकमा भुकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ । नेपाल भारत बिचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ। कृषिमा थप सहकार्य गर्ने तथा जीटुजी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।