प्रतिनिधिसभा विघटन मुद्दाः अर्को सुनुवाइ सोमवार

-


     मर्दी न्युज    
     माघ ३ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो ।

संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामो बहस गरेका थिए ।

दुवैले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए ।

दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताए । संवैधानिक इजलासमा आज भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट यसअघि अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताए ।

प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो ।

त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन श्री ५ लाई विघटन सिफारिश गरिएपछि प्रतिनिधिसभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गरेका थिए ।

भोलि सोमवार फेरि सो मुद्दामा सुनुवाइ हुनेछ ।