
जाकार्ता, ४ माघ । इन्डोनेसियामा गत शुक्रवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ।
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रवार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो। यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो। हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो।
यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन्।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिवार जानकारी दिएका थिए। भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्। सिन्ह्वा

