
काठमाडौं । नेपालमा आज बुधवारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिँदै छ। भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल माध्यमबाट खोप अभियान उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा आजबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ ।
पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

