कोरोनाविरुद्धको खोप अभियान सुरु

-


     मर्दी न्युज    
     माघ १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले वाचन गरेर सुनाएका थिए ।

बुधवार बिहान सरकारी निवास बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आम नागरिकलाई आग्रह गरेका छन्।

ओलीले खोप सुरु भए पनि मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाइमाजस्ता कुरामा ध्यान दिन आग्रह गरेका हुन् । विज्ञहरूले पनि खोप लगाउनेबित्तिकै संक्रमणको जोखिम अन्त्य नहुने भएकाले होसियारी जारी नै राख्नुपर्ने बताइरहेका छन्।

आज बुधवार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ ।