
तस्वीर: राधिका कँडेल, रासस
पोखरा । पोखरामा आजबाट सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट प्रतिस्पर्धात्मक रुपमा २७-२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेट भने पुलिसले २५-२१, २५-२२ ले बाजी मारेको हो ।
मंगलबारै भएको महिलातर्फको खेलमा पुलिसले एपीएफमाथि सोझो सेटमा पराजित गरेको हो । पुलिसले एपीएफलाई २६–२४,२५–२२,२५–११ अङ्कले पराजित गर्दै शानदार जित हात पारेको थियो ।
यसैगरी न्यू डाइमण्डले २५–१३, २२–२५, १८–२५, २७–२५ र १५–१३ अङ्कसहित ३–२ को सेटमा त्रिभुवन आर्मीमाथि जीत हासिल गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार पुरुषतर्फ गण्डकी र आर्मी तथा नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच एक मात्र खेल हुनेछ । खेल आगामी फागुन १ गतेसम्म सञ्चालन हुने छ ।

