भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

-


     मर्दी न्युज    
     फागुन १ गते २०७७ मा प्रकाशित


प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्तका हत्यारालाई पानी मुनि गए पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार बुटवलमा आयोजित नेकपा (ओली समूह) को आमसभामा प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।

‘सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिनेछैन ।’

उनले ढिलै भए पनि सबै घटनाका दोषी, अपराधीलाई सरकारले पक्राउ गर्ने आवश्वासन दिए । त्यस्तै ओलीले सरकारी जग्गा हडप्नेहरुलाई समेत सरकारले कानुनी कठघरामा ल्याइछाड्ने दाबी गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गरेका छन् । उनले संविधानसम्मत र विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताए । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र हुन थालेपछि आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको उनले स्पष्ट पारे ।

‘संविधानको धारा ७६ १ अन्तर्गतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भनेअनुसार विघटन गरेको हो ।’ उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।’

सभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर, झुक्याएर सत्तामा जाने भर्‍याङ बनाएको भन्दै उनले आफूलाई लोकप्रिय छौँ भन्नेहरुले चुनावमा जान किन डराएको ? भनी प्रश्न गरे । उनले आफूहरुले निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने समेत दाबी गरे ।