
बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको दाबी छ ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले संसद पुनःस्थापना हुनु पनि गलत भएको बताएका छन् । संसद पुनःस्थापनासँगै राजनीतिक अस्थिरता र सत्ताको फोहोरी खेल हुने तर्क गर्दै महामन्त्री सिंहले संसद पुनःस्थापना हुनु गलत भएको बताएका हुन् ।
‘संसद पुनःस्थापनाले राजनीतिक अस्थिरता बढाउँछ ।’ उनले भने– ‘तर, यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्छ ।’
अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने उनको विश्लेषण छ । प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताए ।

