र्वोच्चमा प्रचण्डको लिखित जवाफ पेश – ‘मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन’ (पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     फागुन १६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट परेपछि सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । आज प्रचण्ड आफै सर्वोच्च पुगेर जवाफ पेश गरेका हुन् ।

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गरेका छन् । उनले लिखित जवाफमा आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीसहित लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्चमा पुगेका थिए ।