प्रधानमन्त्री ओली आज पोखरा आउँदै

-


     मर्दी न्युज    
     फागुन १६ गते २०७७ मा प्रकाशित


पोखरा, १७ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । नेकपा गण्डकी प्रदेशले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउन लागेको हो ।

पोखरा उत्रेसँगै प्रधानमन्त्री ओलीको औपचारीक कार्यक्रम सुरु हुने छ । प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्न प्रदेशसभा स्थल नदीपुर जाने कार्यक्रम छ । त्यहाँबाट सवा १२ बजे पोखरा सभागृहमा आयोजना हुने कार्यकता भेलामा सहभागी हुनेछन् ।

सभागृहमा हुने कार्यकता भेलाबाट सिधै पोखरा रंगशालामा पुग्ने कार्यतालिका तयार भएको छ । राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री ओली पोखरा रगंशालामा भैरहेको पूर्वाधार निर्माणको जानकारी र नवौ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यानाकर्षण गराउने उद्देश्यले रंगशाला लैजाने तयारी गरिएको राखेप सदस्य राजेश गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री ओली आउने अघिल्लो दिन आइतबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुले रंगशालामा आवश्यक सुरक्षा व्यवस्था बारे जानकारी लिएका थिए ।