
पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् ।
पोखरामा आज आयोजित आफूपक्षको प्रदेशस्तरीय कार्यकर्ताको भेला र प्रशिक्षण कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । आफूले बोलाएको बैठकमा आएर संसदीय दलको नेता परिवर्तन गर्न ओलीको भनाइ थियो ।
‘अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो, दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो, विधिवत फेर्नुस्, बैठक बोलाइदिन्छु’ उनले भने । विधिवत् रूपमा संसदीय दलको नेता फेर्दा आफूलाई मान्य हुने उनले बताए ।
“समृद्ध नेपाल र सुखी नेपाली” आफ्नो संकल्प भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार र नागरिक सबै लाग्न आवश्यक रहेको बताए । आम जनताको आकांक्षा, देशको आकांक्षा यस नाराभित्र समेटिएको चर्चा गगर्दै सो आकांक्षा कतिपयलाई मन नपरेको उनले टिप्पणी गरे।
“यसअघि एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो, तर हामीले एक दिनमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको छ” उनले भने । विकासको काम रफ्तारमा भइरहेको चर्चा गर्दै हिजो आइतबार मात्र ३१ वटा सडक पुलको शिलन्यास गरिएको उनले बताए ।
“सरकारको कामको रफ्तार देखेर विचलित भएकाहरुले अवरोधको काम भइरहेको छ, सम्पूर्ण रुपले ममाथि अत्यन्त तीब्र ढङ्गले प्रहार भइरहेको छ ।” उनले भने, ‘आफूमाथि भौतिक हमला पनि हुनसक्छ, यदि त्यसो भएर ज्यान तलमाथि भयो भने अनौठो नमान्नुस् ।’
“यो पार्टीलाई तलमाथि पर्न दिंदैनौं, देशको भविष्य अन्धकार हुन दिंदैनौं” अध्यक्ष ओलीले थपे, “हामी हरेक परिस्थितिको सामना गर्न तयार छौं, हामीले लडेर ल्याएको लोकतन्त्र हो त्यसैले रक्षा गर्छौ ।” अहिले अपराधिक तत्वहरुसँग सामना गरिरहनुपरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले झुठा लान्छना लगाएर केही पक्षहरुले दुस्प्रचार गरिरहेको टिप्पणी गरे ।

