
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आएका उनले सभागृहमा भएको भेलामा सम्बोधन गरेलगत्तै पोखरा रङ्गशालाको अवलोकनमा पुगेका थिए ।
मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकले हातमा लिएको राष्ट्रिय झन्डा फहराए र प्रधानमन्त्रीको भव्य स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशालाभित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिएका थिए ।

उनलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले रङ्गशालाभित्रका भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वासलगायत खेल पूर्वाधार तथा समस्याका बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताएका थिए ।
“अहिले खेलकूद आयोजना गर्न मिल्ने गरी रङ्गशाला निर्माण भएको १३औँ सागको आयोजनाले पनि देखाएको छ, यसबाट नेपाल, गण्डकी प्रदेश र पोखराले ठूलो उपलब्धी हासिल गरेकोमा म गण्डकी प्रदेश र पोखरालाई बधाई भन्न चाहन्छु” उनले भने ।
प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता व्यक्त गरे ।
“पोखरा रङ्गशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट गर्नुपर्ने कुरा मलाई बताउनुभए हुन्छ, म प्रतिबद्ध छु । यसको अग्रसरता प्रदेश सरकार र खेलकूद परिषद्ले लिनेछ”, उनले भने ।

सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला, स्वीमिङ पुल, सुटिङ रेन्च तथा क्रिकेट मैदानमा प्यारापिटलगायतका खेल पूर्वाधार बजेट अभावमा अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । आगामी नवौँ राष्ट्रिय खेलकूद गण्डकी प्रदेशमा हुने भएकाले कतिपय खेल पूर्वाधार बजेट अभावमा रोकिएकाले सरकारबाट निकासा भएको खण्डमा तिनले पूर्णता पाउने सिलवालले बताए ।

