रौतहट पुगेर देउवाले भने- आलमलाई जेलबाट छुटाउने प्रयासमा छु

-


     मर्दी न्युज    
     फागुन १८ गते २०७७ मा प्रकाशित


कांग्रेस सभापति शेरबहादुर देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आफताब आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न पुगेका देउवाले आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत रहेको बताएका हुन् ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणको अभियोग लागेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य आलमलाई गत साल कात्तिक २९ गते रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा चलान गर्न आदेश दिएको थियो ।

उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा धाँधली गरी चुनाव जित्ने उद्देश्यले बम बनाउँदै गर्दा २७ चैत २०६४ मा भएको विस्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको थियो ।