पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज, ७ अध्यादेश पेस हुने

-


     मर्दी न्युज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


काठमाडौँ । पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज बुधबार बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा पनि अध्यादेश पेस हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गरेपछि र प्रचण्ड-माधवसमूहका सांसदहरूले कार्यसूचीमा अध्यादेश समावेश गरेको भन्दै बैठक बहिष्कार गरेसँगै बैठक नै स्थगित भएको थियो ।

जसका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने अर्काे बैठक आज फागुन २६ का लागि तोकेका थिए।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।