
पोखरा, २९ माघ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा एक विदेशी टोली, आयोजक सहारासहित ८ टीमको सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।
यस वर्षको टीममा मनाङ–मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपीएफ कलब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एशोसिएसन क्यामरुन र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।
प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड २९ लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ । गत वर्षको संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो । क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।
प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा महानगरपालिका–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । एकेडेमीमा हाल तेस्रो ब्याचका १४ जिल्लाका २४ बालक आवासीयरुपमा निःशुल्क, स्वास्थ्य शिक्षालगायत एकेडेमीमा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।


