
पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
दुईवर्षे कार्यकाल रहेको सो मञ्चको उपाध्यक्षमा अमृत सुवेदी, सचिव रोहितराज पराजुली, सहसचिव युवराज श्रेष्ठ, कोषाध्यक्षमा तारा चापागाईँ दुवे र सदस्यमा वासुदेव पौडेल, प्रकाश ढकाल, विसन क्षेत्री, उमा आले, युनिस गुरुङ र उमेश पुनमगर रहनुभएको छ ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नवनिर्वाचित टोलीलाई माला लगाएर स्वागत गर्दै मोफसलमा विधागत पत्रकारिताको क्षेत्रमा मञ्चले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, निर्वाचित समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापामगर, सदस्य इन्द्रप्रसाद पौडेल, निवर्तमान अध्यक्ष लालप्रसाद शर्मालगायतले सङ्घीयतासँगै मञ्चको आवश्यकता र पत्रकारिता क्षेत्रमा यसले खेलेको भूमिकामाथि चर्चा गर्नुभएको थियो ।

