नेपालमा जलपंक्षी गणनाका क्षेत्रीय संयोजकहरु को तेस्रो कार्यशाला गोष्ठी लुम्बिनीमा शुरु

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७७ मा प्रकाशित


भैरहवा, २ चैत । नेपालमा हिउँदे जलपंक्षि गणना गर्ने क्षेत्रीय संयोजकहरुको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठी हिजोबाट लुम्बिनीमा शुरु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित होटल लुम्बिनी बुद्ध गार्डेनमा संचालित गोष्ठीमा नेपालको पुर्व देखि पश्चिम सम्मका ३० जना संयोजकहरु तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

सन १९८७ बाट नेपालमा हिउँदे जल पंक्षीहरुको गणना शुरु भएयता सन २००७ मा पहिलो र सन २०१२ मा दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको थियो ।

क्षेत्रीय संयोजकहरुको अनुभव आदानप्रदान तथा बदलिएका प्राबिधिक बिधिहरु साथै नयाँ डाटाबेस राख्ने एवं सिमसारको महत्त्व र संरक्षणमा सरोकारवालाहरुलाई सुसूचित गर्ने सम्बन्धमा गोष्ठी बिशेष केन्द्रित रहने एसियाली जलपंक्षी गणनाका नेपाल संयोजक डा. हेमसागर बरालले बताउनुभयो ।

स्मरणीय छ, नेपालमा सिटिजन्स साइन्टिस्ट्सको प्रत्यक्ष सहभागितामा गरिएको सबैभन्दा लामो र नियमित अध्ययन गरिएको यो बृहत कार्यक्रम हो ।

औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले गर्नुभएको थियो । शुभकामना मन्तव्य राख्नुहुने महानुभावहरुमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका वरिष्ठ उपसचिव तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता हिमालयन नेचरका कार्यक्रम संयोजक डा. तुलसी सुबेदीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संचारकर्मी मनोज पौडेलले गर्नुभएको थियो ।