
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले कास्कीका पत्रकारहरुको पारिवारिक स्वास्थ्य बीमा निःशुल्क रुपमा गर्ने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आफू मातहत रहेका ३ सयभन्दा बढी पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य बीमा गरिदिने भएको हो ।
कास्की शाखाले पोखरा महानगरपालिकासँगको सहकार्यमा पत्रकार तथा तिनको पारिवारिक स्वास्थ्य बीमाको लागि महानगर प्रमुख मानबहादुर जिसीले बीमाको फाराम पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सोमवार हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरेको हो ।
सो अवसरमा महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेललाई बीमा गर्नुपर्ने तीन सयभन्दा बढी पत्रकारको लिस्ट बुझाएका थिए ।
महासंघले आर्थिक अभावमा पत्रकारको परिवार उपचारबाट बञ्चित नहोस् भन्ने उद्धेश्यले पारिवारिक बीमा गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार महासंघको सदस्य रहेको पत्रकार र उनको ५ जनासम्मको परिवारको पारिवारिक स्वास्थ्य बीमा गरिनेछ भने पारिवारक स्वास्थ्य बीमाका लागि लाग्ने रु. ३ हजार ५ सय शुल्क पोखरा महानगरपालिकाको सहयोगमा महासंघले बेहोर्ने जानकारी दिए ।
सोही कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार बद्रीविनोद प्रतिक र उनकी धर्मपत्नी सावित्री खनालको बीमा गर्दै उनीहरुलाई बीमा कार्ड हस्तान्तरण गरिएको थियो ।
बीमाका लागि बीमक पत्रकारको घरमै आएर बीमा गर्ने जनाइएको छ ।