
एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको बताएका छन् । मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए ।
‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं,’ उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’
नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे।
त्यस्तै ओली पार्टी विभाजन गर्ने पक्षमा रहे पनि आफूहरु एकताकै पक्षमा रहेको नेता नेपालको दाबी छ । ‘हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी फुटाउने छैनौं । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । हामी एकताको पक्षमा छौं,’ नेता नेपाले भने ।
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

