
फाइल तस्विर
पोखरा । सिर्जना कप सामुदायिक मावि छात्र–छात्रा भलिवल प्रतियोगिता भोलि बुधवारदेखि हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा भोलि चैत ११ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनवर्ष अघिदेखि शुरु भएको प्रतियोगिताको तेश्रो संस्करणको सम्पूर्ण तयारी भइसकेको आयोजकले बताएको छ ।
प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुनेछ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीले मात्र सहभागिताता जनाउनेछन् ।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेता छात्र–छात्रा दुवै तर्फकालाई ७० हजार, उपविजेतालाई ३५ हजार र तृतीय विद्यालयलाई २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने आयोजकले जनाएको छ ।

