
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको माहामारी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।
‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ’ उनले भने, ‘संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’
उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ३ हजार ९ सय ६३ जनामा पीसीआर परीक्षण गर्दा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।

