
पोखरा । कोभिड–१९ को महामारीबाट सिर्जित लामो समयको बन्दाबन्दीका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारी तथा विभिन्न व्यावसायिक संघ संगठनहरु लागि परेका छन।
पोखरा पर्यटन परिषदसंग आबद्ध तथा आबद्ध नभएपनि विभिन्न रूपमा कृयाशिल संघ संस्थाहरुले यस अघिनै प्रचारात्मक र प्रबर्द्धनात्मक कार्यक्रमहरु लिएर देशका विभिन्न ठाउँमा पुगेका छन।
यसैक्रममा हिजो मंगलवारदेखि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्राङ्गणमा छोटो कार्यक्रम गरि भुज्रुङ्गखोला–घलेखर्क–तारा हिलटप–सिक्लेस पर्यटकीय पदमार्गको प्रबर्द्धनमा निस्केको टोली आज माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाको सिमानामा पर्ने अत्यन्तै रमणीय स्थल तारा हिलटप (२८०० मि) पुगेको छ।

दोस्रो पुनहिलको उपमा समेत पाएको यस स्थानबाट अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाका हिउँ चुचुरोहरुको मनमोहक दृश्य देखिन्छ । पोखरा बजारको केहि भाग, काहु धरहरा, पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको सुन्दर दृश्य समेत देखिन्छ । लज÷ होटल र होमस्टे जस्ता संरचना नभएकोले पाल तथा बन्दोबस्तीका सामानहरुसहित आएको कार्यक्रमका संयोजक प्रकाश ढुंगानाले बताए।
छत्रे उन्यु, विभिन्न प्रजातिका लालिगुरांसको घना जंगल, फलांट, लेकाली चांप, विभिन्न प्रजातिका सुनाखरी, सयौं प्रजातिका चराचुरुङ्गी र अन्य बन्यजन्तुले भरिपुर्ण यो पदमार्गमा विदेशी पर्यटकको लागि महत्त्वपूर्ण त छदैछ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माताहरु समेत एकपटक पुग्नपर्ने गन्तव्य भएको टोलीका सदस्य तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ल्वाङका पर्यटन सहायक अधिकृत शिव देबकोटाले बताए ।


