तत्काल लकडाउन हुँदैन, स्वास्थ्य मापदण्डमा भने कडाइ हुन्छः अर्थमन्त्री

-


     मर्दी न्युज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने प्रष्ट्याएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने बताए ।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सिमानाका बन्द नगरिने उनले बताएका हुन्।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुपर्ने आवश्यकता छ, उनले भने, ‘त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

त्यस्तै अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए। कोभिड पछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए।