वायु प्रदूषण बढेपछि मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बिदा

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले मंगलबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए । सरकारको निर्णयपछि चैत १७ देखि २० गते शुक्रबारसम्म  शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।

चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । शुक्रबारदेखि देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ ।