नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेका थिए । सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सन्जोग फाइनल खेलमा म्यान अफ दि म्याच समेत घोषित भए।

यस्तै रन्जित धिमालको पासमा सन्जोग राईले छोएको बललाई विशाल राईले गोल गर्न सफल भए।

त्यस्तै बंगलादेशले ८३ औं मिनेटमा एक गोल फर्काएको थियो। जमल भुयाको कर्नर बलमा उनले उत्कृष्ट हेड गोल गरेका थिए।

किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो। 

नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। विजेता टोली नेपालले पाँच हजार र उपविजेताले बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।