
पोखरा । अन्नपूर्ण प्रथम ( ८०९१मि) को चुचुरोमा मानव पाइला पुगेको ७१ बर्षको इतिहासमा नवबर्ष २०७८ को सुरुवातसगै नयाँ रेकर्ड र थप नयाँ इतिहास समेत रचिएको छ।
बिश्वका थोरैमात्र महिलाहरु चुचुरोमा पुगेको संसारकै कठिनतम मध्येको एक यस चुचुरोमा गत शुक्रबार ( बैशाख ३ गते , २०७८) पहिलोपटक नेपाली महिलाहरुको टोलिले चुचुरो चुम्न सफल भएका छन।
फरक फरक आरोहणदलसंग आबद्ध भएतापनी चुचुरोमा पुग्नेदिन एउटै टिम बनेर गएको उक्त टोलिले एकतानै बल हो भन्ने संदेश बिश्वभर फैलाउन सफल भएको छ।
छ जना सफल आरोहिहरुमा नेपाल पर्वतारोहण संघका उपाध्यक्ष तथा सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा, फोटो पत्रकार पुर्णिमा श्रेष्ठ, शर्मिला तामाङ , पासाङ ल्हामु शेर्पा , दावा याङ्जुम शेर्पा र दावा भुटी शेर्पा रहेका छन।

सामान्यतया बसन्त ऋतुमा जेठ महिनाको दोस्रो साता तिर चुचुरो मा पुग्ने आरोहिहरु यस पटक बैशाख महिनाको पहिलो हप्तामै चुचुरोमा पुगेर नयाँ रेकर्ड राखेका छन भने एकैदिनमा ६७ जना आरोहीहरु चुचुरोमा पुगेको पहिलो रेकर्ड हो।
सम्पुर्ण महिला आरोहीलाई सोमवार एक औपचारिक कार्यक्रम गरि भब्यतापुर्वक स्वागत र संमान गरिएको छ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबर्द्धन, पोखरा पर्यटन परिषद र परिषदमा आबद्ध नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश लगायतका १२ वटा ब्यवसायिक संस्थाहरुको सक्रिय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलास रिसोर्टको सभाहलमा गरिएको थियो।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका प्रमुख क्याप्टेन डम बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, ग्रामीण पर्यटन पुनरोत्थान कमिटी गण्डकी प्रदेश संयोजक अग्नि कडेल, नेपाल पर्यटन बोर्डका अधिकृत बिमल कडेलले मन्तव्य राखेका थिए।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील राज पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव मिलन तिवारीले गर्नुभएको थियो भने आरोहीहरु माया शेर्पा र पुर्णिमा श्रेष्ठले आरोहणको दौरानमा भएका अनुभवहरु आदानप्रदान गर्नुभएको थियो।

