कागजको ग्लास उद्योग सञ्चालनमा

-


     मर्दी न्युज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित


हेटौंडा । मकवानपुरको हेटौंडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित ३० लाख लागतमा हेटौंडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । 

पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताए । 

उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ  केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ ।

घरेलु उद्योगअन्तर्गत हेटौंडा – ५ स्थित आफ्नै घरमा सञ्चालक न्यौपानेले उद्योग स्थापना गरेको बताइएको छ । हेटौंडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ ।  परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ । रासस