
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठक आज शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
आज बस्ने बैठकले गत बैशाख ६ गते बसेको बैठकलाई नै निरन्तरता दिनेछ । वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । त्यसदिन बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना खनाल-नेपाल पक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए । यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ ।
उता, नेपाल समूहले ओलीले आफूहरुलाई जुनसुकै बेला कारबाही गर्न सक्ने भन्दै कारबाही रोक्न माग गर्दै बिहीबार सर्वोच्च अदालमा रिट पनि दायर गरेका छन् ।
त्यस्तै विवाद उत्कर्षमा पुगेका बेला ओली र नेपालबीच बुधबार र बिहीबार वार्ता भएको थियो । काठमाडौंको मेरियट होटेलमा भएको वार्ता निष्कर्षविहीन सकियो । ओलीले आफूले फागुन २८ पछिका निर्णय मान्नुपर्ने अडान राखेको र नेता नेपालले ०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने बताएका थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले बिहीबार बेलुकी उपाध्यक्ष बामदेव गौतमसँग पनि छलफल गरेका थिए ।

