फुस्रोटाउके सारौंको उप प्रजातिको नेपालमा पहिलो पटक अभिलेख

-


     मर्दी न्युज    
     जेठ १ गते २०७८ मा प्रकाशित


फुस्रोटाउके सारौंको उपप्रजाति नेमोरिकोला, फोटोः संजीव आचार्य

फुस्रोटाउके सारौंको नेमोरिकोला उप प्रजातिको नेपालमा पहिलो पटक सुनसरीको प्रकाशपुरमा हिजो बैशाख ३१ गते अभिलेख भएको छ ।

विश्व महामारी कोभिड १९ वाट सृजित कठिन अबस्थामा आफ्नै घर वरिपरि पंछी अबलोकनका क्रममा कोशी पंछी समाजका अध्यक्ष संजीव आचार्यले उक्त उप प्रजातिले गुँड लगाउँदै गर्दै गरेको अबस्थामा भेटेका थिए ।

बरिष्ठ पंछीबिद तथा नेपालका चराहरु नामक पुस्तकका लेखकद्धय क्यारोल इन्स्किप तथा टिम इन्स्किपले उक्त प्रजाति फुस्रोटाउके सारौंको उप प्रजाति नेमोरिकोला भएको पुस्ट्याउनु भएको छ ।

विश्वमा पाईने फुस्रोटाउके सारौंको दुई उपप्रजाति मध्ये मालाबारिका को माथिल्लो भाग र टाउको फुस्रो, तल्लो भागमा छाती देखि निर्गमस्थल सम्म कैलो र कटुसररङको पुच्छर हुन्छ जुन नेपालको रैथाने प्रजाति हो र यो उपप्रजाति भारतको उत्तरी भेग हिमाञ्चल प्रदेश, पूर्व तथा पूर्वउत्तर अरुणाञ्चल प्रदेश, आसाम राज्यको उत्तरी भुभाग र दक्षिणमा उडिसा देखि पेनिन्सुला सम्म अभिलेख गरिएको छ ।

फुस्रोटाउके सारौंको उपप्रजाति मालाबारिका, फोटोः चुङबा शेर्पा

त्यसैगरि नेमोरिकोला को माथिल्लो भाग फुस्रो, टाउको, कण्ठ, पेट तथा निर्गमस्थल फुस्रोफुस्रो सेतो, छातिको छेउ र तल्लो कोखामा कैला टाटा र कटुसरङ्गको पुच्छर हुने जुन नेपालवाट ६३० कि.मि. पूर्वमा उत्तर पुर्वी भारतको आसाम राज्य देखि पुर्वी म्यानमार, दक्षिण चाइना, दक्षिण तथा दक्षिणपश्चिम थाइल्याण्ड र इण्डोचाइना सम्म अभिलेख गरिएको छ ।

नेमोरिकोला उप प्रजातिले उक्त भालेले मालाबारिका उप प्रजातिको पोथी सँगै गुँड बनाउँदै गरेकोमा उक्त प्रजातिबाट जन्मने बच्चा कस्ता निस्कने हुन् भन्ने बारेमा पंछीबिद हरु कौतुहलमा रहेका छन् । यसै प्रसङ्गमा बरिष्ठ पंछीबिद डा. हेमसागर बराल थप्नुहुन्छ, प्रकृतिमा यस्ता घटनाहरु भईरहने र दुई उप प्रजातिमा क्रस प्रजनन हुने र बर्णशंकर जन्मने हुन्छ । जस्तैः भद्राईका उप प्रजाति ।