जापानमा जून २० बाट आपतकालीन अवस्था हटाउने, ओकिनावामा यथावत

-


     मर्दी न्युज    
     असार ३ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, ३ असार । जापान सरकारले अप्रीलदेखि लागू गरेको आपतकालीन अवस्था जून २० बाट हटाउने निर्णय गरेको छ । टोकियो ओलम्पिक सुरू हुने समय (जुलाई २३ ) करीब १ महिना बाँकी रहदा आपतकाल हटाउन लागेको हो । प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन मूल समितिको बैठकपछि बिहीबार पत्रकार सम्मेलन गरी आपतकाल हटाउने निर्णय गरेको बताए ।कोरोना संक्रमण तिब्र रूपमा फैलिएपछि तेस्रो पटक लागू गरेको आपतकाल टोकियो, ओसाका, ह्योगो, क्योतो, फुकुओका, आइची, होक्काईदो, ओकायामा, र हिरोसीमा प्रान्तमा हटाउने भएको हो । ओकिनावामा भने स्वास्थ्य प्रणाली सुधार नभएकोले जुलाई ११ सम्म कायम रहने प्रधानमन्त्री सुगाले बताए । यद्यपि टोकियो, ओसाका, ह्योगो, क्योतो, फुकुओका, आइची, होक्काईदो प्रान्तमा संक्रमण नियन्त्रणको प्राथमिकता अपनाईने जनाईएको छ । साँझ ८ बजेपछि रेष्टुरेन्ट बन्द गर्नु पर्ने, मदिराजन्य पदार्थ साँझ ७ बजेसम्म मात्र बेच्न पाईने लगायतका नियम भएकोले यो अर्धआपतकालीन अवस्था हो । साईतामा, चिबा र खानागावा प्रान्तमा पनि यो लागू हुने जनाईएको छ ।

अप्रील २५ देखि टोकियो, ओसाका, ह्योगो र क्योतो प्रान्तमा र मे १२ देखि फुकुओका र आइची प्रान्तमा आपतकाल लागू गरेको थियो । त्यसैगरी मे १६ देखि होक्काईदो, ओकायामा र हिरोसीमा र ओकिनावामा मे २३ देखि आपतकालीन अवस्था लागू गरेको थियो ।

२४ घण्टामा १५५४ जना संक्रमित ४७ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ५ सय २६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १४ हजार ३ सय ४४ जना पुगेको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ७ लाख ४० हजार ८ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ७ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ भने २४ हजार ३ सय १७ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

मंगलबार ४९ हजार ८ सय ६९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।