पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

-


     मर्दी न्युज    
     असार १२ गते २०७८ मा प्रकाशित


पोखरा । मनसुनी वायु र दक्षिणी भू-भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको विभागले  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ ।  यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउ पनि विभागको आग्रह छ ।