तीनदिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

-


     मर्दी न्युज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित


पोखरा । मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रियताका कारण आजदेखि तीन दिन बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

यस्तै भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।