
पोखरा । कोरोना बाट थलिएको पर्यटन ब्यबसायलाई चलायमान गराउन ब्यबसायी, संचालक एबं श्रमिक कर्मचारीहरु को सुरक्षा पहिलो प्राथमिकता हो । जब सम्म सुरक्षाको प्रत्याभूति हुँदैन, त्यहाँ अबको पर्यटन चल्दैन ।
बिश्वभरका मानिसहरु आवतजावत गर्ने र तिनलाई सेवा, सुबिधा, आतिथ्यता दिनुपर्ने हुनाले पर्यटन उद्योगलाई उद्योग हरुको पनि उद्योग समेत भन्ने गरिन्छ । यस अर्थमा, यस अन्तर्गत जोडिएका ब्यबसायी तथा कामदार कर्मचारीहरु लाई अग्रपङ्तीका सेवक को रूपमा हेर्नुपर्ने हुन्छ ।
लामो समयदेखि पोखरा पर्यटन परिषदको अगुवाइमा सरोकारवालाहरु लाई यहीकुरा बुझाउन र ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रमहरु गरिएको पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा बताउनुहुन्छ । जस अन्तर्गत पत्रकार सम्मेलन, मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
काठमाडौंको ठमेलका पर्यटन ब्यबसायीहरु, कर्मचारीहरुले सरल र सहज रूपमा खोप लगाइसकेको अबस्थामा पोखराका पर्यटन ब्यबसायी तथा श्रमिक कर्मचारीले नपाउनुपर्ने कुनै कारण छैन ।
बेला मौकामा पोखरालाई पर्यटनको राजधानी भनिएपनी काठमाडौंले मोफसल लाई हेर्न दृष्टिकोण र हेलाँहोचो यहीँनेर छर्लङ्ग हुन्छ । गाउँ गाउँमा सिंहदरवार आयो भनेर रमाएतापनी केन्द्रको निर्देशनमुखी कर्मचारीतन्त्र कहिलेपनि ब्यबसायमैत्री हुनै सकेन, चाहेन ।
भर्खरै गण्डकी प्रदेशमा सरकार परिवर्तन भएकोले नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पर्यटन क्षेत्र र ब्यबसाय साथै यसक्षेत्र का कठिनाइहरु बुझ्दै होलान तर दिनको संकेत बिहानीले गर्छ भनेझैं मन्त्रीमण्डलको बैठकमा पोखराका पर्यटन ब्यबसायिहरु लाई खोप दिलाउने कुराले प्रवेश नपाउनुले उहाँहरुको उदासीनता प्रष्ट देखिन्छ। माइक समातेर भाषणगर्ने बेला प्रदेशको समृद्धिको आधारनै पर्यटन भन्न नछुटाउने नेताहरुको पनि यो परिक्षाको घडी हो ।
खोप लगाउने क्रम चलिरहेको, अनुदानमा प्राप्तगर्ने र खरिद गरेर ल्याउने प्रक्रिया चलिरहेकोले आफू आशावादी भएको तर पर्यटन क्षेत्रलाई अपेक्षित महत्त्व नदिएकोमा आफू निराश रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले बताउनुभयो ।