
सन थापा,
जापान, १४ साउन १४ । जापानमा पहिलोपटक १० हजार ६ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएदेखि हालसम्मकै सबैभन्दा उच्च संक्रमण हो । बुधबार ९ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राजधानी टोकियोमा हालसम्मकै धेरै ३ हजार ८ सय ६५ जना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख चार हजार ३६ जना पुगेको छ ।
चार प्रान्तमा आपतकालीन अवस्था लागू
कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि जापन सरकारले खानागावा, साईतामा, चिबा र ओसाकामा अगष्ट २ देखि ३१ सम्म आपतकालीन अवस्था लागु गर्ने भएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले बिहीबार आर्थिक पुनरूत्थान मन्त्री यासुतोशी निशिमुरा र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुरासँग भेटवार्तापछि आपतकालीन अवस्था लागु गर्ने निर्णय गरेका हुन् । टोकियो र ओकिनावामा जारी आपतकालीन अवस्था पनि अगष्ट ३१ सम्म लम्ब्याउने भएको छ । त्यसैगरी होक्काईदो, ईशिखावा, फुकुओका, ह्योगो र क्योतोमा अगष्ट २ देखि ३१ सम्म अर्धआपतकालीन अवस्था लागु गर्ने जनाईएको छ ।
स्वास्थ्य सेवा प्रणाली प्रभावित हुने विज्ञको चेतावनी
कोरोना भाईरस सल्लाहकार समितिले स्वास्थ्य सेवा प्रणाली प्रभावित हुने चेतावनी दिएका छन् । समितिका प्रमुख शिगेरु ओमिले बिहीबार माथिल्लो सदनको बैठकमा बोल्दै संक्रमण बढ्नाको मुख्य तीन कारक डेल्टा भेरियन्टको तीव्र फैलावट, गर्मी बिदा र टोकियो ओलम्पिक रहेको बताए । उनले यहीं स्थिति रहेमा स्वास्थ्य सेवा प्रणाली गम्भीर रुपमा प्रभावित हुने चेतावनी दिदै संक्रमण रोकथामको सबै प्रयास अबलम्बन गर्नु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १५ हजार १ सय ८८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख २८ हजार ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ भने ४२ हजार २ सय ६७ जनाको उपचार भइरहेको छ ।
मंगलबार ५४ हजार ७ सय ६३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
आज १५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोपछि खानागावामा १ हजार १ सय ६४, ओसाकामा ९ सय ३२, साईतामामा ८ सय ३४, चिबामा ५ सय ७६, ओकिनावामा ३ सय ९२, फुकुओकामा ३ सय ६२, ह्योगोमा २ सय ८०, होक्काईदोमा २ सय ६०, आईचीमा २ सय ५०, इबाराकीमा १ सय ६६, क्योतोमा १ सय ६४, तोचिगीमा १ सय ४२ जना सिजुओकामा १ सय आठ, गुन्मामा १ सय पाँच संक्रमित थपिए ।