
बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।
पाटीको नीतिविपरीत शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीले निष्कासन गरेको हो । उनीहरु तीनै जना मन्त्री पनि हुन् ।
जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए । तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि मंगलबार जसपा केन्द्रीय कार्यकारीणी समितिले उनीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।
सोही आधारमा आज लुम्बिनी प्रदेश सभाले कारवाही गरेको हो ।
