झापाकाे एक होटलबाट २२० डोज भेरोसेल खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

-


     मर्दी न्युज    
     १६ साउन २०७८ मा प्रकाशित


झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसेल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयवासीले खोप नियोजित रूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कारबाही लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको बताए ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले भने आफू आइसोलेसनका लागि होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दाबी गरेका छन् ।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयवासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।
    
होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबा हीको माग गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए । उनले घटनाबारे सोधखोज भइरहेको जानकारी दिए । रासस